असोज २३, चितवन । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णभक्त पोखेरेलले मनोनयन दर्ता गराएका छन् ।
आज (आइतबार) निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उम्मेदवारी दर्ता गर्दै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उनले ०७४ मा १७ हजार ३६६ मतान्तरले जितेको भन्दै यस पटक १० हजार मतान्तरले विजयी हुने दाबी गरेका हुन् ।
‘मैले २०७० मा दुई हजार ४५० मतले जितेको थिए । ०७४ मा १७ हजार ३६६ मतान्तरले जितेको सांसद हुँ । तेस्रो पटक पनि मेरो जनतासँगको अन्तर सम्बन्धमा कुनै कमी छैन । मेरो जित सुनिश्चित छ । सात आठ हजार मत तलमाथि भयो भने पनि १० हजार मतले जित्नेमा ढुक्क छु’, उनले भने ।
उनले अझै केमी काम गर्न बाँकी रहेकोले आफुले उम्मेदवारी दिएको उनले बताए । ‘पहाडका चेपाङ र शहरमा बस्ने मान्छेहरुको सम्बन्ध जोड्ने र अझै केही काम बाँकी छ । ती सम्पूर्ण कामहरु गरेर सुखी नेपाली समृद्ध नेपाल निर्माणको संकल्प पुरा गर्न नै चुनाव लडिरहेका छौं’, उनले भने ।


