मंसिर १६ ,काठमाडौँ । फिल्म ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेनविरुद्ध आज बिहान सिक्किम निवासी राम गोपाल राइले दिएको उजुरीलाई चलचित्र निर्माता संघले खारेज गरेको छ । निर्माता संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा बसेको कार्यसमिती बैठले राइले दिएको निवेदनमा छलफल गरिरहन आवश्यक नरहेको भन्दै निवेदन खारेज गर्ने निर्णय गरेको हो ।
निवेदन दर्ता भएपछि संघले दुवै पक्षलाई शुक्रबार दिउँसो २ बजे छलफलमा बोलाएको थियो । निर्माता संघले छलफलका लागि बोलाएको बैठकलमा निर्माता सन्तोष सेन उपस्थित भएपनि राई भने उपस्थित भएका थिएनन् । यस्तै, राइले निवेदनमा पेश गरेको कागजको सक्कलप्रति पेश गर्न नसकेको पनि निर्माता संघले उल्लेख गरेको छ ।
छलफलमा बोलाउँदा पनि निवेदक नआएको र निर्माता सेनले उक्त सम्झौता सन् २०२१ डिसेम्बरमै खारेज भइसकेको कागजपत्र पेस गरेकाले निवेदनलाई अघि नबढाउने निर्णय भएको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए ।
आज बिहान सिक्किम निवासी राम गोपाल राइले आशुसेन फिल्मस्का प्रमुख सन्तोष सेनले ‘प्रेमगीत ३’का लागि डिजिटल राइट्स भन्दै ४ करोड ८४ लाख ५० हजार ठगी गरेको भन्दै निर्माता संघमा उजुरी दिएका थिए ।
निवेदक राईले डिजिटल अधिकारका लागि सो रकम तिरेको आफूले अहिलेसम्म राइट प्राप्त नगरेको भन्दै उजुरी दिएका थिए । निर्माता सेनले यसअघि नै खारेज भइसकेको सम्झौता देखाएर आफ्नो चरित्र हत्या गर्न खोजेको बताए।



