काठमाडौं, कार्तिक २१
शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताबीचको सर्वदलीय बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा विशेषगरी १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने दल र तिनका नेताबीच समसामयीक पछिल्लो राजनीति विषयबस्तुमा छलफल भएको बैठकमा सहभागि नेताहरुले बताएका छन् ।
शान्ति, संविधान र व्यवस्थाप्रति आक्रमण र भड्काउने प्रयास भइरहेको त्यसबारेमा सबै दलका नेताले धारणा राखेको बैठकमा सहभागि नेपाली काँग्रेसका नेतासमेत रहेका अर्थमन्त्री डा.प्रकाशशरण महतले जानकारी दिनु भयो । महतका अनुसार बैठक विशेष गरी व्यवस्था जोगाउने कुरामा सबैको एक मत भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायतका नेताको सहभागिता थियो । छलफलमा सहभागी दलले संघीय लोकतान्त्रिक गणतन्त्र बचाउनुपर्नेमा प्रतिवद्धता जनाएका अर्थमन्त्री महतले बताउनु भएको छ ।
परिवर्तनकारी राजनीतिक दलका नेता खासगरी कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताले गणतन्त्र, संघीयता र संविधानप्रति प्रतिबद्ध रहेको धारणा राखेको भन्दै त्यसका लागि आगामी दिनमा एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको उहाँको भनाई छ । छिटपुट रुपमा विभिन्न कोणबाट व्यवस्थाप्रति भइरहेका प्रहार र तिनको मिलेर प्रतिवाद गर्ने सबैको अभिमत आएको महतले बताउनु भयो ।


