काठमाडौं । बडादशैँको अवसर पारेर बहुप्रतीक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ आज (असोज ३१ गते, शनिबार) देखि देशव्यापी प्रदर्शनमा आएको छ।
दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी र सनिशा भट्टराई मुख्य भूमिकामा रहेको चलचित्रले दशैँको माहोलमा दर्शकको साथ पाउने अपेक्षा गरिएको छ। चलचित्रमा प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, मेक्सम गौडेल, नवीन लम्साल, विष्णु सापकोटा, रवीन्द्र झा, रजनी केसी र कर्मा शाक्यलगायत कलाकारको पनि अभिनय रहेको छ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता रोहित अधिकारी हुन्। चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन्। निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेका छन्।
दीपक–दीपाको लोकप्रिय चलचित्र शृङ्खलाको नयाँ भागका रूपमा ‘छ माया छपक्कै २’ प्रदर्शनमा आएकाले यसप्रति दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ। चाडपर्वको समयमा प्रदर्शनमा आएको चलचित्रले बक्स अफिसमा कस्तो व्यापार गर्छ भन्ने चासो पनि उत्तिकै छ।
चलचित्रमा किरण थापाको कोरियोग्राफी रहेको छ भने त्सुजिल कर्माचार्यले ब्याकग्राउन्ड म्युजिक दिएका छन्। त्यस्तै, मुकेश शाह र सीएएसले साउन्ड डिजाइन तथा रि–रेकर्डिङ मिक्सिङको काम गरेका छन्। मनोज श्रेष्ठले भीएफएक्स तथा मोसन ग्राफिक्सको जिम्मेवारी सम्हालेका छन्।


