गैरआवासीय नेपाली संघ (एनआरएनए) र लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका तथा देवदह नगरपालिकाको संयुक्त साझेदारीमा लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्ध्दन तथा विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाण्डौस्थित संघको सचिवालयमा आज (१४ चैत २०८०)मा आज आयोजित विशेष कार्यक्रमका बीच संघ र नगरपालिकाहरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा संघका तर्फबाट अध्यक्ष डा बद्री केसी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान, कपिलवस्तु नगरपालिकाका प्रमुख धनपत यादव, रामग्राम नगरपालिकाका प्रमुख सुदिप पौडेल तथा देवदह नगरपालिकाका प्रमुख ध्रुब प्रसाद खरेलले हस्ताक्षर गर्नुभएको हो ।
समझदारी अनुरुप अन्तर्राष्ट्रियस्तरमा शान्ति,सद्भावको प्रवद्र्धन गर्न, नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन एनआरएनए र स्थानीय सरकारहरू बीचको सहकार्यलाई सुदृढ बनाई बुद्ध धर्मको उद्गम भूमि लुम्बिनीले बोकेको परम्परागत संस्कृति र शान्तिको दर्शन अन्तर्राष्ट्रिय स्तरमा पुर्याई बलियो बनाउने संयुक्त प्रयासको रुपमा यस समझदारीलाई लिइएको छ । साथै, यसले बुद्ध धर्मको भावनामार्फत नेपाल र विश्वभर शान्ति र भाइचाराको सिद्धान्त सञ्चार, गर्न पनि मद्दत गर्ने विश्वास लिइएको छ ।
कार्यक्रममा संघका अध्यक्ष डा बद्री केसीले विश्व शान्तीका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल, शान्तिभूमि धार्मिक एवं पर्यटकीय क्षेत्र बुद्ध परिपथका चार नगरपालिका र गैरआवासीय नेपाली संघबीच संस्थागत रुपमा नै सम्बन्ध कायम भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउन एनआरएनएले स्थानीय सरकारसँग मिलेर काम गर्न लागेको बताउनुभयो ।
यस्तै कपिलवस्तु नगरपालिकामा प्रमुख सुदिप पौडेलले लुम्बिनी क्षेत्रको विकासका लागि एनआरएनएले सुरु गरेको नयाँ आयामले मूर्त रुप लिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दिपक काफ्ले, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका रामप्रासाद ज्ञवाली, लेखा अघिकृत रामचन्द्र अर्याल, गैरआवासीय नेपाली संघका सल्लाहकार टीबी कार्की लगायतको उपस्थिति रहेको थियो ।


