काठमाडौं । अभिनेता सलिनमान बनियाँ नयाँ चलचित्र ‘युनिभर्सिटी अफ गुण्डाज’ मार्फत नेपाली रजतपटमा कमब्याक गर्ने भएका छन्। स्टाइलिस लुक र युवापुस्तामाझ लोकप्रिय सलिनमान यसपटक फरक कथावस्तुसहित दर्शकमाझ आउन लागेका हुन्।
सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा सलिनमानको जोडीका रूपमा जापानी अभिनेत्री मीना यसोदा अनुबन्धित भएकी छन्। नेपाली बुवा र जापानी आमाको पारिवारिक पृष्ठभूमि भएकी मीना हाल जापानमा बसोबास गर्दै आएकी छन्।
निर्माण पक्षका अनुसार चलचित्रमा सलिनमान र मीनाबीचको रोमान्टिक केमेस्ट्री विशेष आकर्षण बन्नेछ।
सलिनमान स्वयंले लेखेको कथामा आधारित यस चलचित्रलाई निर्देशक सुरेश न्यौपानेले निर्देशन गरिरहेका छन्। फिल्ममा सलिनमान र मीनासँगै अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ।
यसअघि सार्वजनिक गरिएको ‘फर्स्ट लुक’ पोस्टरले चलचित्रलाई अन्य समकालीन नेपाली फिल्मभन्दा फरक शैलीमा प्रस्तुत गर्ने संकेत गरिसकेको छ। निर्माण पक्षले दर्शकको प्रतिक्रिया मूल्यांकन गर्दै प्रदर्शन मिति तय गर्ने तयारी गरेको छ।
चलचित्रको प्राविधिक टोलीमा सौरभ लामा (डिओपी), मन्दिप गौतम (स्क्रिनप्ले), रोमन बज्राचार्य (ब्याकग्राउण्ड स्कोर), सम्राट बस्नेत (एक्सन निर्देशन), मनोज श्रेष्ठ (भिएफएक्स), बन्दे प्रसाद (सम्पादन), मुकेश शाह (साउण्ड डिजाइन) र राजेन्द्र मोक्तान (कलरिस्ट) रहेका छन्।
सलिनमानको लामो अन्तरालपछि हुने यो कमब्याक र अन्तर्राष्ट्रिय पृष्ठभूमिको अभिनेत्रीको प्रवेशले ‘युनिभर्सिटी अफ गुण्डाज’प्रति दर्शकमाझ विशेष उत्सुकता बढाएको छ।


