काठमाडौं, जेठ ११ । ७९औँ कान्स फिल्म फेस्टिभलअन्तर्गत ‘अन सर्टेन रिगार्ड’ विधामा प्रतिष्ठित ‘जुरी प्राइज’ जित्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ को टोलीलाई स्वदेश फर्किएपछि भव्य स्वागत गरिएको छ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले चलचित्र टोलीलाई स्वागत गर्दै ऐतिहासिक सफलताप्रति बधाई व्यक्त गर्नुभयो।
चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सम्पन्न स्वागत कार्यक्रममा चलचित्रकर्मी, कलाकार तथा सांस्कृतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कान्सजस्तो विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमा नेपाली चलचित्रले महत्वपूर्ण पुरस्कार जितेपछि चलचित्र क्षेत्र उत्साहित बनेको छ। ‘एलिफेन्ट इन द फग’ले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको पहिचान र सम्भावनालाई थप उजागर गरेको भन्दै उपस्थित वक्ताहरूले टोलीको प्रशंसा गरेका थिए।
टोलीको उपलब्धिलाई नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक सफलता मानिएको छ, जसले विश्व चलचित्र बजारमा नेपाली सिनेमाप्रति नयाँ चासो र विश्वास सिर्जना गर्ने अपेक्षा गरिएको छ।













