काठमाडौँ । अभिनेत्री मलिका महत मुख्य भूमिकामा अनुबन्ध भएसँगै चलचित्र ‘आ बाट आमा २’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। निर्माण टिमले सोमबार बिहान मकवानपुरको चित्लाङबाट चलचित्रको शुभमुहूर्त गर्दै छायांकन आरम्भ गरेको हो।
निर्माण पक्षले आइतबार मात्रै मलिकालाई चलचित्रकी मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरेको थियो। निर्देशक चन्द्र पन्त का अनुसार चलचित्रको छायांकन चित्लाङ, काठमाडौँ र बेलायतको लन्डनमा गरिनेछ। चित्लाङ र काठमाडौँको छायांकन सम्पन्न भएपछि बाँकी दृश्यहरू खिच्न निर्माण टिम लन्डन जाने तयारीमा रहेको छ।
निर्देशक पन्तले एक महिनाको कार्यतालिका बनाएर चलचित्रको छायांकन अघि बढाइएको जानकारी दिए। चलचित्रमा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का लगायत कलाकारहरूको अभिनय रहनेछ।
चलचित्रको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले तयार पारेका हुन्। आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रका प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।
गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ को सिक्वेलका रूपमा निर्माण हुन लागेको यो चलचित्र आगामी असोज ३० गते, अर्थात् दसैँको फूलपातीको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको छ। चलचित्रको नेपाल वितरण अधिकार आरआर फिल्म्स ले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटल सँग रहेको छ।


