काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘लज्जावती’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। निर्माण टिमले गत साता धर्मस्थलीस्थित एक घरमा अन्तिम दृश्य खिच्दै ४५ दिन लामो छायांकन यात्रालाई इन्डक्ल्याप गरेको हो।
छायांकन सम्पन्न भएसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ। चलचित्र आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। हालसम्म उक्त मितिमा कुनै अन्य नेपाली चलचित्रले प्रदर्शन मिति घोषणा नगरेकाले ‘लज्जावती’ले एकल प्रदर्शनको अवसर पाउने अपेक्षा निर्माण टिमको छ।
आहा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन् भने कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता रहेका छन्। चलचित्रका कार्यकारी निर्माता दिनेशराज बुढाथोकी हुन्।
चलचित्रमा मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, रामहरी खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायत कलाकारहरूको अभिनय रहेको छ।
दिव्यराज सुवेदीको छायांकन रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रलाई देशभर कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।


