काठमाडौं, जेठ २१
हरि लम्सालको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘बाः एक योद्धा’ ले नयाँ कलाकारहरूको नाम सार्वजनिक गरेको छ। छायांकन सम्पन्न गरी पोस्ट–प्रोडक्सनको चरणमा रहेको चलचित्रले आफ्नो पब्लिसिटी रणनीतिअन्तर्गत कलाकारहरूको लाइनअप विस्तारै सार्वजनिक गर्ने क्रममा चार नयाँ कलाकारको परिचय गराएको हो।
निर्माण टिमले अभिनेता सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापा चलचित्रमा आबद्ध रहेको जानकारी दिएको छ। छायांकन सम्पन्न भइसकेको र पोस्ट–प्रोडक्सनको कामसमेत सुरु भइसके पनि यी कलाकारको नाम हालसम्म गोप्य राखिएको थियो।

यसअघि चलचित्रमा मुख्य भूमिकामा झरना थापा, सुहाना थापा र दिव्यदेव पन्त रहने जानकारी सार्वजनिक भइसकेको थियो। नयाँ कलाकारहरूको आगमनसँगै चलचित्रप्रति दर्शकको चासो थप बढेको निर्माण पक्षको विश्वास छ।
अभिनेता सागर खनाल चलचित्र ‘११ः५५’ बाट चर्चामा आएका कलाकार हुन् भने शिशिर सिवाकोटीले ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’ मार्फत दर्शकको प्रशंसा बटुलेका थिए।

आगामी भदौ १९ गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘बाः एक योद्धा’ कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा रिलिज हुन लागेको हो। चलचित्रको कथावस्तुसँग प्रदर्शन मिति सान्दर्भिक हुने भएकाले उक्त मिति रोजिएको निर्देशक लम्सालले बताएका छन्।
दर्जनौँ कालजयी गीतका सर्जक तथा संगीतकार हरि लम्सालको यो पहिलो फिचर फिल्म निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा पनि लम्साल स्वयंले लेखेका हुन्।चलचित्रका निर्माता वसन्त लम्साल हुन्। उनले यसअघि अभिनेता विपीन कार्की अभिनीत चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए।

पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित चलचित्रले सन्तानको उज्ज्वल भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीहरूलाई मुख्य विषय बनाएको छ।
शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। चलचित्रको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।


