काठमाडौं, जेठ २४ । वरिष्ठ अभिनेता तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सकारात्मक संकेत देखाएको छ। आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री भएको निर्माण पक्षले जनाएको छ।
चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङका अनुसार कुनै पनि प्रचार सामग्री सार्वजनिक नहुँदै विदेशी बजारबाट प्राप्त भएको यो प्रतिक्रिया उत्साहजनक छ। बेलायत प्रदर्शन अधिकार सपन इन्टरटेन्टमेन्ट लिमिटेडले खरिद गरेको छ भने हङकङ प्रदर्शन अधिकार मेन ड्रागन लिमिटेडले लिएको छ।
निर्देशक गुरुङले अन्य देशहरूबाट पनि प्रदर्शन अधिकार खरिदका लागि प्रस्ताव आइरहेको जानकारी दिँदै केही सम्झौताहरू अन्तिम चरणमा पुगेको बताए। उनले चलचित्रको विषयवस्तु र कलाकारको टोलीप्रति अन्तर्राष्ट्रिय वितरकहरूको चासो बढ्दै गएको उल्लेख गरे।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पेन्सन पट्टा’मा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सोल गुरुङ, राज थापा ‘काउचा’, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिबी गुरुङ, पुष्कर गुरुङ र प्रतिक्षा गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ। विश्वास गुरुङ र माया गुरुङले यसै चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका छन्।
चलचित्रको कथा पनि निर्देशक गुरुङ स्वयंले लेखेका हुन्। शीर्षकले भूतपूर्व लाहुरेको जीवनसँग सम्बन्धित कथा झल्काए पनि चलचित्रले लोभ र स्वार्थमा अल्झिएको एक पात्रको मानवीय परिवर्तनको यात्रा प्रस्तुत गर्ने निर्देशकको भनाइ छ।
मीन कोन्मे गुरुङ (बेलायत), भोजबहादुर गुरुङ (बेलायत), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङको संगीत रहेको छ। कियर कोइचले सम्पादन गरिरहेको चलचित्रका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् भने निर्माण व्यवस्थापकको जिम्मेवारी डिबी गुरुङले सम्हालेका छन्।नेपालभर चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।


