काठमाडौं । बडादसैँअन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ ।
विजयादशमीको दिन आफ्नै घरपरिवारका सदस्यसँग टीका र जमरा लगाएकाहरू दोस्रो दिन टाढा रहेका आफन्त तथा मान्यजनको घरमा पुगेर टीका थाप्ने र आशीर्वाद लिने गर्दछन् । मान्यजन टाढा हुनेहरू भने आजदेखि कोजाग्रत पूर्णिमासम्म नै टीका थाप्न जाने परम्परा रहेको छ ।
नेपालका कतिपय स्थानमा विजयादशमीको दिन मात्रै टीका लगाउने चलन भए पनि अधिकांश स्थानमा विजयादशमीदेखि सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म निरन्तर चल्ने गर्दछ ।
नवदुर्गा भवानीको प्रसादका रूपमा ग्रहण गरिने टीका र जमरा कोजाग्रत पूर्णिमासम्म लगाएर मान्यजनबाट आशीर्वाद लिन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
दसैँमा टीका र जमरा लगाउने परम्पराले परिवार तथा आफन्तबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै आपसी सद्भाव, प्रेम र एकताको सन्देशसमेत दिने गर्दछ ।


