नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पहिलो पटक विधान अधिवेशन गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।
विधानको मस्यौदा बनाउन उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन भइसकेको छ । १५ दिनको समय दिएको उक्त समितिले तयार गरेको मस्यौदा पुसको अन्तिम साता बस्ने स्थायी कमिटी बैठकले परिमार्जनसहित पारित गर्नेछ । र, छलफलका लागि एक महिना तल्लो तहमा पठाउने निर्णय भएको छ ।
सोही बैठकले सांगठनिक कार्य विभाजनसमेत गर्ने नेताहरूले बताएका छन् । विधान अधिवेशनपछि वडा, जिल्ला र प्रदेश सम्मेलनको तयारी गर्ने माओवादीको योजना छ ।

०७८ पुुस १८ गते प्रज्ञाभवन कमलादीमा सम्पन्न माओवादी केन्द्रको आठौँ महाधिवेशनले विशेष महाधिवेशनअघि विधान अधिवेशन गर्ने निर्णय लिएको थियो । गत साउनको तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमा पार्टीको अबको नीति, प्रक्रिया, विधि, विधान कस्तो हुनुपर्छ भन्ने विषयमा केन्द्रीय सदस्यहरूले खुलेर बहस गरेका थिए । पार्टी रुपान्तरणका लागि पहिला नेतृत्व रुपान्तरण हुनुपर्र्नेेमा अधिकांश सदस्यहरूले जोड दिएका थिए ।
महाधिवेशनको म्याण्डेट र केन्द्रीय समितिको निर्णय बमोजिम ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अहिले जारी छ । अभियान यही पुस १६ गते समापन हुँदैछ । अभियानको गम्भीर समीक्षासहित तल्लो कमिटीबाट आएको सुझावको आधारमा पार्टीलाई वैज्ञानिक समाजवादी पार्टीमा रुपान्तरण गर्ने तयारीमा नेतृत्व जुटेको छ ।


