प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र बलियो बन्दै गएको बताउनु भएके छ । आज दोलखा उद्योग वाणिज्य सङ्घले यहाँ आयोजना गरेको महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा आउँदाको समयमा जस्तो अर्थतन्त्र कमजोर नभएको भन्दै अर्थतन्त्रमा सुधार देखिएको बताउनु भयो ।
“पछिल्लो समय विप्रेषण र राजस्व बढेको छ, विदेशी मुद्रा सञ्चिति पनि बढेको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अर्थतन्त्रमा सुधारले मुलुकमा उत्साह देखिएको छ ।” उहाँले आफ्नो कार्यकालमा अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै अब फरक ढङ्गले काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले दोलखाको उत्पादन बढाउन र पर्यटक बढाउनका लागि महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गर्दै गत वर्षको तुलनामा दोलखाको आर्थिक अवस्था राम्रो भएको बताउनु भयो । उहाँले चीनदेखि दोलखा हुँदै भारत जोड्ने राजमार्ग निर्माणलाई सरकारले दीर्घकालीन योजनामा राखेको समेत बताउनु भयो। उहाँले दोलखामा ‘फिल्म सिटी’ निर्माणका लागि सरकारको सहयोग रहने समेत स्पष्ट पार्नुभयो।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अहिले पर्यटकमा वृद्धि भएको, विप्रेषणमा सुधार आएको र वैदेशिक मुद्रा सञ्चिति बढेको भन्दै अर्थतन्त्र चलायमान बनाउन सरकारले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्र सुधारका लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गरी अगाडि बढ्नुपर्नेमा जोडदिनु भयो।
आजदेखि सुरु महोत्सव पुस २२ गतेसम्म चल्नेछ । महोत्सवका क्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।


