सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बालकुमारी घट्नामा मन्त्रीको गाडी जलाइनु र घटनामा युवाहरूको मृत्यु हुनु दुःखद भएको बताउनु भयो ।
मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले बालकुमारीस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलनकारीहरूबाट जलाईनु नहुने टिप्पणी गर्नु भयो ।
‘भौतिक पूर्वाधार मन्त्रीको गाडी जलेको, त्यहाँ वैदेशिक रोजगारमा जानेहरूको आन्दोलन भइरहेको र त्यहाँ मन्त्रीज्यू काम विशेषले त्यो बाटो हिँड्नु हुँदा गाडी जलाइएको भन्ने सुनिएको छ । त्यसको यथार्थ विवरण आउन बाँकी छ । यथार्थ विवरण आएपछि सबै जानकारी गराउँला । तर जे घटना भयो त्यो गलत भयो । त्यो दुःखद् भयो । त्यस्तो गर्नु हुँदैन’ उहाँले भन्नु भयो, । ‘आफ्ना असन्तुष्टिहरू, आफ्ना कुराहरू, आफ्ना विषयहरू शान्तिपूर्वक राख्न पाउने सबैलाई अधिकार छ । त्यो राख्नुपर्छ । सरकारप्रति असन्तुष्टि व्यक्त गर्न पाइन्छ । तर त्यसको आफ्नो तरिका हुन्छ । जुन ढङ्गले यो घटना घटाइयो यसमा दुःख व्यक्त गर्न चाहन्छु । यो अराजकता हो । अराजकता फैलाउने, प्रश्रय दिने काम कसैले गर्नुहुँदैन । यो गलत भएको छ ।’
उनले सो घटनाको सम्बन्धमा सम्बन्धित निकायले आवश्यक पहलकदमी लिने बताउनु भयो ।


