संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निजगढ अन्तरराष्ट्रिय विमानस्थलको विरोध गर्नु राष्ट्रहित विपरीत भएकोबताउनु भएको छ ।
शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनु भएको हो । मन्त्री किरातीले निजगढ विमानस्थल अहिले बनाउन नदिई विरोध गर्नेहरूले १० वर्षपछि देशलाई हुने घाटा व्यहोर्नुपर्ने बताउनु भयो । उहाँले निजगढ बनाउन लाग्दा बाधा अवरोध गर्नु राष्ट्रिय हितविपरीत हुने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘निजगढ विमानस्थल अहिले नबनाएर १० वर्षपछि देशलाई हुने धोका अहिले विरोध गर्नेले लिनुपर्छ। आज निजगढ बनाउनुपर्छ भन्दा जसले बाधा अवरोध गर्छ, त्यो राष्ट्रिय हितमा हुँदैन।’
उहाँले काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल जतिसुकै ठूलो बनाए पनि त्यसले परिणाम दिन नसक्ने बताउनु भयो।
मन्त्री किरातीले काठमाडौंको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तै उस्तै भएको टिप्पणी गर्नुभयो।
उहाँले काठमाडौंको विकल्प सरकारले खोज्नैपर्ने भन्दै यसको विकल्प निजगढ विमानस्थल भएको दावी गर्नु भयो ।


