राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजेट र योजना बनाउँदा पुरानो सोच झल्कनेभन्दा पनि नयाँ प्रशासकीय स्वरूप अनुरूपको बनाउन सरकारलाई सुझाव दिनुभएको छ ।
मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्नुहुँदै अध्यक्ष दाहालले यस्तो सुझाव दिनुभएको हो ।
अध्यक्ष दाहालले बजेटमा प्राथमिकता तय गर्दा देशको आवश्यकता, काम गर्ने क्षमता र सम्भावनाको विषयमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष दाहालले राष्ट्रिय सभा मूलतः प्रदेश र स्थानीय तह प्रतिको जिम्मेवारी भएको भन्दै समितिहरू र सांसदहरू त्यसमा गम्भीर भएर लाग्न जरुरी रहेको बताउनुभयो ।
मुलुकको क्षमताभन्दा पनि फेसनको रूपमा योजना माग गर्ने काम भइसकेको अध्यक्ष दाहालको भनाइ थियो । उहाँले १६ औँ योजना कार्यान्वयनमा जान लागेको भन्दै योजना बनाउने परम्परा योजना निर्माण, लक्ष्य निर्धारण गर्ने र कार्यान्वयन गर्ने कार्यविधिको सन्दर्भमा नयाँपन आउन जरुरी रहेको बताउनुभयो । उहाँले योजनाअनुसार लक्ष्य प्राप्त गर्न नसकिएको भन्दै आगामी योजना साना र थोरै तर कार्यान्वयन हुने बनाउनु जरुरी रहेको बताउनुभयो ।


