प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा जनताले परिवर्तन एवम् विकासको महसुस गर्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टीले शुक्रबार गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षमा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने बताउनुभयो ।
आगामी आर्थिक वर्षको बजेट विगत आर्थिक वर्षको जस्तो नहुने बताउँदै प्रधानमन्त्री प्रचण्डले अध्यादेशमार्फत ऐन संशोधन गरेर जनताको सुझावलाई समेटेर नीति तथा कार्यक्रम निर्माण भइरहेको स्पष्ट पार्नुभयो ।
आगामी आर्थिक वर्षको बजेट निर्माणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परिणाम दिने आयोजनालाई मात्र बजेटको व्यवस्था गरिने स्पष्ट पार्नुभयो ।
माओवादीले मात्र सामाजिक न्यायको क्षेत्रमा लाखौं मिटरब्याजबाट पीडितलाई न्याय दिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यही सरकारले मात्र विदेशमा रहेका श्रमिक एवं देशभित्रका न्यून आयभएका श्रमिकलाई सामाजिक सुरक्षामा समावेश गराइएको बताउनुभयो ।


