राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ। मंगलबार काठमाडौँमा १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले नेपालको समग्र विकास समृद्धि र प्रगतिमा पनि युवा विद्यार्थीको अग्रणी र महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीय स्तरबाट नै खेलाडी तयार गर्न राज्यले ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो।

उहाँले गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेको जस्तै खेलकुदका लागि आवश्यक श्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने बताउनुभयो।
राष्ट्रपति पौडेलले खेलकुदमा लागेर मेरो भविष्य बन्छ भन्ने वातावरण सिर्जना गर्नु नै आजको आवश्यकता रहेको बताउनुभयो।


