काठमाण्डौमा आईतबार देखि तेस्रो लगानी सम्मेलन शुरू भएको छ। सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहकाबीच उद्घाटन गर्नुभएको हो।
नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न कानुनी सुधारका क्षेत्रमा गरिएका प्रयासबारे जानकारी गराउनुन र लगानीका लागि तयार भएका परियोजनासहित विभिन्न क्षेत्रका आयोजनाको विस्तृत प्रदर्शनी गर्ने उद्देश्यले सम्मेलन गरिको हो । नेपालमा लगानीको अवसर र सम्भावना खोज्न आउनेप्रति सम्मेलनले सहयोग गर्ने विश्वास लिएको छ ।
यसअघिका लगानी सम्मेलनभन्दा यसपटकको तेस्रो लगानी सम्मेलनमा के फरक छ ?
१. यसपटक सरकारले निजी क्षेत्रसँग बलियो सहकार्य र सहयात्राको नीति लिएको छ।
२. सम्मेलनअघि लगानी भित्राउन बाधक देखिएका ८ वटा ऐनहरू संशोधन गरिसकेको छ।
३. यसपटक विगतभन्दा धेरै मुलुकका विशिष्ट लगानीकर्ताहरू सम्मेलनमा सहभागी भएका छन्।
४. लगानीका लागि परियोजनाहरूको छनोट र मूर्तिकरण गरिएको छ।
५. परियोजनाहरूको काम सरलीकृत गरिएको छ।
६. समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार आएकाले विश्वासको वातावरण बन्दै गएको छ।
७. राजनीतिक तहमा लगानीमैत्री नीति र वातावरणका निम्ति उच्चस्तरको समझदारी कायम भएको छ।
यसर्थ, तेस्रो लगानी सम्मेलन लगानी प्रवर्धनका निम्ति कोशेढुंगा हुने विश्वास छ।
लगानी सम्मेलनको कार्यतालिका कस्तो छ ?
सम्मेलनको दोस्रो दिन आज अर्थमन्त्री पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नुहुनेछ भने पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयका छलफल सत्र हुनेछ । सो सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायत वक्ता हुनुहुन्छ ।
‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, ‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ‘यातायात पूर्वाधार सुधार’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोका सदस्य प्रा.डा. सङ्गीता सिंह, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र प्राध्यापक डा सुरेशराज आचार्यलगायत वक्ता रहनुभएको छ ।
सम्मेलनमा समानान्तर बहस सत्र पनि सञ्चालन हुनेछन् । समापन सत्रमा सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलेसम्बोधन गर्नुहुने छ भने समापन मन्तव्य अर्थमन्त्री पुनले दिने कार्यक्रम छ ।


