काठमाडौं । चलचित्र निर्देशक समाजको नयाँ नेतृत्व चयन भएको छ । मंगलबार सम्पन्न निर्वाचनबाट निर्देशक अरुणकुमार प्रधान अध्यक्षमा निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी जनकदीप पराजुलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
कुल १५९ मत खसेको निर्वाचनमा प्रधानले १०९ मत प्राप्त गरे भने पराजुलीले ४६ मत पाए । अध्यक्षमा विजयी भएसँगै प्रधानले निर्देशक समाजलाई थप सक्रिय, व्यवस्थित र सिर्जनशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
निर्वाचनमा उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली विजयी भए । गजुरेलले ९५ मत प्राप्त गर्दा वलीले ७१ मत ल्याए । महासचिवमा समुन्द्र भट्ट १०६ मतसहित विजयी भइन् भने उनका प्रतिद्वन्द्वी कमल एक्चै मगरले ४७ मत पाए ।
सचिव पदमा राजबहादुर साने ८० मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अमर ओलीले ४६ र दिनेश लिङ्देनले २८ मत प्राप्त गरेका थिए । कोषाध्यक्ष पदमा जनक खड्का निर्विरोध चयन भए भने सह–कोषाध्यक्षमा उत्सव केसी ६७ मतसहित विजयी बने ।
त्यसैगरी सदस्य पदमा लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमर दीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिले आगामी कार्यकालमा नेपाली चलचित्र निर्देशन क्षेत्रको हकहित, सिर्जनात्मक विकास र संस्थागत सुदृढीकरणमा काम गर्ने अपेक्षा गरिएको छ ।


