काठमाडौं । निर्देशक बलिराम चौहान ले नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका छन्। गत वर्ष समीक्षात्मक रूपमा प्रशंसा बटुलेको चलचित्र ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै आफ्नो नयाँ परियोजनाबारे जानकारी दिएका हुन्।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा बन्ने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ले ‘हरेक युवाको कथा’ भन्ने स्लोगन बोकेको छ। शीर्षक र स्लोगनले नै चलचित्र युवा पुस्ताको भावना, संघर्ष र सम्बन्धको कथामा केन्द्रित हुने संकेत गरेको छ। युवा पुस्तामाझ प्रचलित ‘ल्याङ्ग ल्याङ्ग’ शब्दले किचकिच, मानसिक दबाब वा एउटै विषयमा दोहोरिने तनावलाई जनाउने अर्थ राख्छ।
निर्देशक चौहानले सार्वजनिक गरेको थिम पोस्टरमा ‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने वाक्यांश समावेश गरिएको छ। पोस्टरमा पार्कमा छोडिएको झोला, हेडसेट, बाफ उडिरहेको कफी, डायरी, पेन, कालो चस्मा, अलपत्र परेको फूलको बुके र ‘गुड भाइब्स’ लेखिएको स्टिकरजस्ता सामग्री देख्न सकिन्छ। यी प्रतीकहरूले प्रेम, बिछोड, अधुरा सपना र भावनात्मक तनावको कथा भन्न खोजिएको संकेत गर्छन्।
पोस्टरको दृश्य संयोजन र निर्देशकले प्रयोग गरेको वाक्यांशले प्रेम सम्बन्धमा आएको दरार, टुटेका वाचा र त्यसपछिको मानसिक अवस्थालाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको हुनसक्ने अनुमान गर्न सकिन्छ। यद्यपि निर्माण टिमले कथाबारे औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन।
चलचित्रको कथा निर्देशक बलिराम चौहान र उपश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्। कलाकार, छायांकन, प्राविधिक टिम, निर्माण पक्ष तथा प्रदर्शन मितिबारे भने हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।
उल्लेखनीय रूपमा, चौहान निर्देशित ‘द ब्ल्यू लाइट’ले समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाए पनि प्रदर्शनको समयमा निर्वाचनको माहोलका कारण हल प्रदर्शन छोटो अवधिमै अन्त्य भएको थियो। नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ मार्फत उनले युवा पुस्ताको मनोविज्ञान र सम्बन्धका जटिल पक्षलाई पर्दामा उतार्ने तयारी गरेको देखिन्छ।


