काठमाडौं । निर्देशक नवीन सुब्बा ले चलचित्र ‘मितज्यू’ले नेपाली समाजका विभिन्न तह र आयामलाई प्रभावकारी रूपमा उजागर गरेको बताएका छन्। उनका अनुसार चलचित्रले राजनीतिक, सामाजिक, आर्थिक तथा पारिवारिक पक्षलाई एकसाथ प्रस्तुत गर्दै समकालीन नेपाली समाजको यथार्थ चित्रण गरेको छ।
चलचित्रबारे प्रतिक्रिया दिँदै सुब्बाले ‘मितज्यू’ले गरेको राजनीतिक संकेत अहिलेको नेपाली राजनीतिक परिवेशसँग मेल खाने बताए। “पुराना राजनीतिक शक्तिहरू कमजोर बन्दै गएको र नयाँ सोच तथा नयाँ पुस्ताको उदय भइरहेको सन्देश चलचित्रले प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ,” उनले भने, “पात्र निर्माणकै चरणदेखि यो दृष्टिकोणलाई ध्यानमा राखिएको देखिन्छ।”
उनका अनुसार नेपाली चलचित्रमा राजनीतिक घटनाक्रम र सामाजिक परिवर्तनलाई यति सशक्त ढंगले कथामा समावेश गरिएको उदाहरण कमै भेटिन्छ। राजनीतिक घटनालाई पात्र र कथामार्फत प्रतीकात्मक शैलीमा प्रस्तुत गरिएको पक्ष आफूलाई विशेष लागेको उनले बताए।
सुब्बाले अभिनेत्री तेरिया मगर को अभिनयको विशेष प्रशंसा गर्दै नयाँ कलाकार भए पनि उनको प्रस्तुति परिपक्व देखिएको बताए। “यो उनको पहिलो चलचित्र जस्तो लाग्दैन। उनले दयाहाङ राई र सौगात मल्ल जस्ता अनुभवी कलाकारसँग उत्कृष्ट तालमेलका साथ अभिनय गरेकी छन्,” उनले भने।
दयाहाङ र सौगातको अभिनयले पनि चलचित्रको भावनात्मक पक्षलाई बलियो बनाएको उनको भनाइ छ। दुवै कलाकारले पात्रको मनोविज्ञान र संवेदनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको उनले उल्लेख गरे।
सुब्बाका अनुसार ‘मितज्यू’ले समाजमा स्थापित पारिवारिक संरचना र सोचमाथि समेत प्रश्न उठाएको छ। “यो चलचित्रले परिवार भन्ने अवधारणालाई नयाँ ढंगले हेर्ने प्रयास गरेको छ। स्थानीय परिवेश, गाउँमा पुगेको सडक, जीप र त्यसले ल्याएको सामाजिक परिवर्तनमार्फत चलचित्रले धेरै गहिरा विषय उठाएको छ,” उनले भने।
उनले चलचित्रले रोल्पा र रुकुमको परिवेशबाट सुरु भएर समग्र नेपाली समाजको सोच, व्यवहार र सामाजिक परिवर्तनमाथि प्रश्न उठाउने काम गरेको बताए। यस्ता चलचित्रहरूलाई दर्शकले साथ दिनुपर्ने र यस्ता सिर्जनाले समाजमा सकारात्मक बहस र चेतना फैलाउने विश्वास व्यक्त गरे।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मितज्यू’मा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर मुख्य भूमिकामा छन्। साथै खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका लगानीकर्ता जनक घर्तीमगर हुन् भने निर्देशन अनिल बुढा मगरले गरेका छन्। चलचित्रको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् भने छायांकन शिशिर बिशंखेको रहेको छ। चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गरिरहेको छ।


