माघ ६ , काठमाडाैं । गत मंसिरमा सम्पन्न निर्वाचनपछि कांग्रेस केन्द्र र सातै प्रदेशमा सरकारबाट बाहिर पुगेको छ । आफ्नै अडानका कारण केन्द्रदेखि प्रदेशसम्म सरकारको नेतृत्व पाउन असफल भएपछि पनि कांग्रेस केन्द्र र प्रदेशमा अलमलको अवस्थामा देखिएको छ । केन्द्रमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले प्रदेशमा कतै मुख्यमन्त्रीलाई समर्थन गरेको छ । कतै विपक्षमा देखिएको छ ।
केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा आफ्नै उम्मेदवार उठायो । शनिबार हुने उपसभामुखको निर्वाचनमा पनि कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेसले मधेस र बागमती प्रदेशमा सरकारलाई विश्वासको मत दिएको छ ।
एमालेले मुख्यमन्त्री पाएका प्रदेश १, गण्डकी र लुम्बिनीमा भने विपक्षमा उभिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएका छैनन् । यी प्रदेशमा कांग्रेसको भूमिका के हुने भन्ने टुंगो छैन । विश्वासको मत दिएका प्रदेशमा पनि कांग्रेस सरकारमा सहभागी भएको छैन । प्रतिपक्षमै बस्ने भएको छ ।
केन्द्रदेखि प्रदेशसम्ममा सभामुख र उपसभामुखको निर्वाचनमा पनि कांग्रेसको भूमिका मिश्रित छ । केही स्थानमा सभामुख र उपसभामुखमा उम्मेदवारी दिएको छ । तर, कतै पनि कांग्रेसले जितेको छैन । यसले कांग्रेसको भूमिका सत्तापक्ष कि प्रतिपक्ष भन्ने प्रश्न उब्जेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत केन्द्रदेखि प्रदेशसम्म फरक–फरक भूमिका निभाए पनि सबै निर्णय आवश्यकताका आधारमा भएको दाबी गर्छन् ।
उनी कांग्रेसको निर्णयमा कुनै अलमल नरहेको बताउँछन् । ‘हामी अलमलमा छैनौँ । केन्द्रदेखि प्रदेशसम्म हामी प्रतिपक्षी भूमिकामा छाैँ र रहनेछौँ । हामीले केन्द्रमा सरकारलाई विश्वासको मत लिने निर्णय गरेका थियौँ । प्रदेशको विषयमा प्रदेश संयन्त्रलाई नै आवश्यकताका आधारमा समर्थन, विश्वासको मतको विपक्षमा या उम्मेदवार खडा गर्न भनेका थियौँ । सोही आधारमा ती निर्णय भएका हुन्,’ उनले भने, ‘सरकार र संसद् फरक विषय हुन् । प्रदेशमा समर्थन गरे पनि हामी सरकारमा जाँदैनौँ । निर्णयका क्रममा कुनै पार्टी विशेषलाई हेरेर हामीले निर्णय लिएका छैनौँ ।’


