काठमाडौं । दशैंको फूलपातीलाई प्रदर्शन मिति तय गरेको नेपाली चलचित्र ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले सार्वजनिक गरेको ४ मिनेट १८ सेकेन्ड लामो ट्रेलरमा चलचित्रको कथावस्तु, पात्र र पारिवारिक सम्बन्धका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ।
ट्रेलरमा अभिनेता दीपकराज गिरी बाइक राइडरको भूमिकामा देखिएका छन्। उमेर ढल्किँदै गएको पात्रले दुई विवाह गरेपछि उसको जीवनमा आउने उतारचढावलाई चलचित्रको मुख्य कथाका रूपमा प्रस्तुत गरिएको छ। प्रेम, वैवाहिक सम्बन्ध र पारिवारिक परिस्थितिलाई हास्यरससँग जोडिएको ट्रेलरले चलचित्रप्रति दर्शकको चासो बढाउने अपेक्षा गरिएको छ।
चलचित्रमा दीपकराज गिरीसँगै दीपाश्री निरौला, केकी अधिकारी र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। त्यस्तै, प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, मेक्सम गौडेल, नवीन लम्साल, विष्णु सापकोटा, रवीन्द्र झा, रजनी केसी र कर्मा शाक्यलगायत कलाकारले पनि अभिनय गरेका छन्।
दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रको कथा, पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका हुन्। चलचित्रमा दीपाश्री निरौलाले सल्लाहकारका रूपमा काम गरेकी छन्।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई आईएमईले पनि प्रस्तुत गरेको छ। चलचित्र असोज ३१ गते दशैंको फूलपातीका दिनदेखि देशभर प्रदर्शनमा आउने जनाइएको छ।
सुशन प्रजापति र आलोक शुक्लाले चलचित्रको छायांकन गरेका हुन् भने विपिन मल्लले सम्पादन गरेका छन्। चलचित्रको नेपाल वितरण एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले गर्नेछन्।


