माघ १४ , काठमाडाैं । सर्वोच्च अदालतले सांसद र मन्त्रीसँगै पार्टी सभापति पद पनि खारेजीको फैसला सुनाउँदा रवि लामिछाने सिंहदरबारस्थित गृह मन्त्रालयमा थिए ।शुक्रबार दिनभर गृह मन्त्रालयमै रहेका लामिछाने सर्वोच्चको फैसलापछि बाहिरिँदै गर्दा पत्रकारले जिज्ञासा राखे– अब राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति को बन्छ ? लामिछानेले सटीक जवाफ फर्काए, ‘खोइ, थाहा भएन ।’
शुक्रबारै साँझ बसेको रास्वपाको केन्द्रीय समिति बैठकले तत्कालको समस्या टार्नेगरी श्रममन्त्रीसमेत रहेका उपसभापति डोलप्रसाद अर्याललाई कार्यबाहक सभापति र संसदीय दलको नेताको जिम्मेवारी सुम्पिएको छ । रास्वपामा दलको नेता केन्द्रीय समितिले नै चुन्ने र संसदीय दलबाट अनुमोदन हुने व्यवस्था छ । प्रतिनिधिसभामा रास्वपाका लामिछानेबाहेक १९ सांसद छन् ।
‘सर्वोच्चको फैसलापछि आकस्मिक बसेको पार्टीको केन्द्रीय समिति बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबाहक सभापति र संसदीय दलको नेताको जिम्मेवारी तोकेको छ,’ प्रवक्ता मुकुल ढकालले भने, ‘सर्वोच्चको फैसलालाई पनि स्विकार्ने निर्णय भएको छ ।’ केन्द्रीय समिति बैठकअघि रास्वपाका नेताहरूले कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए ।
रास्वपाका एक सांसदले सर्वोच्चको फैसला अनपेक्षित रहेको र यसपछि पार्टीलाई अघि बढाउन जटिल हुन सक्ने बताए । ‘हामी त ९० प्रतिशत जित्छौँ भन्नेमा थियौँ । तर, खोइ कसरी यस्तो फैसला आयो, अचम्मित छौँ,’ उनले भने, ‘हाम्रो पार्टी भनेकै खासगरी रवि लामिछानेको नाम र लोकप्रियताका कारण उदाएको हो । उहाँ र उहाँले स्थापित गरेको घन्टी चिह्नको प्रभाव देशभर परेको सत्य हो । त्यसैले अब उहाँविना यो पार्टीलाई अघि बढाउन जटिल हुन सक्छ ।’
निर्वाचन आयोगका अनुसार दलको कुनै एक सदस्य अयोग्य हुँदैमा पार्टीको वैधतामा भने प्रश्न नहुने बताउँछन् । तर, रास्वपाको हकमा फैसलाको पूर्णपाठ नपढी केही भन्न नसकिने उनको भनाइ छ । ‘यस विषयमा राजनीतिक दलसम्बन्धी ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन आकर्षित हुन्छ । दलको कुनै एक सदस्य अयोग्य हुँदैमा दल नै अयोग्य नहुन सक्छ । तर, आधिकारिक रूपमा अहिले नै केही भन्न सकिन्न । फैसलाको पूर्णपाठ आएपछि मात्रै आयोगले यसबारे भन्न सक्छ,’ उनले भने ।
लामिछानेबाहेक रास्वपाका १९ सांसदमा मन्त्रिपरिषद्मा दुई मन्त्री र एक राज्यमन्त्री छन् । शिक्षा मन्त्रालयमा शिशिर खनाल, श्रम मन्त्रालयमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की छन् । अहिले देशभर ६० भन्दा बढी जिल्लामा रास्वपाको कमिटी विस्तार भएको महामन्त्री ढकालको दाबी छ ।
२४ सदस्यीय केन्द्रीय सदस्य रहेको रास्वपामा कुल सदस्य कति छ भन्नेमा प्रवक्ता स्वयं अनभिज्ञ छन् । ‘हामीले भौतिक र अनलाइन दुवै हिसाबले सदस्यता दिइरहेका थियौँ । त्यसको अभिलेखीकरण गर्ने क्रममा छौं । ४०–५० हजार त होलान्,’ उनले भने ।


