फागुन १५ , काठमाडौं ।यूएईमा आजबाट सुरु आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले जितका साथ सिरिजको सुरुआत गरेको छ ।
नेपालले सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी(पीएनजी)लाई पराजित गरेको छ । यूएईस्थित दुबई अन्तराष्ट्रिय मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको हो । पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । कुशलले ५ चौका प्रहार गरेका थिए । अर्का ओपनर आसिफ शेखले ४४ रन बनाए । दुई ओपनरका बीचमा ७६ रनको साझेदारी भएको थियो ।
मध्येक्रमका ब्याटर आरिफ शेखले ६२ बलमा ३८ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरेका थिए ।कप्तान रोहितकुमार पौडेलले २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुवा र सेसे बाउले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको हो । पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रनमा गुलशन झाबाट आउट भए । सेसे बाउ पनि झाकै बलमा ३१ रनमा आउट भए ।
किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाएर कुशल मल्लको बलमा आउट भए । हिरि हिरिले १० रन बनाउँदा आजको खेलमा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका प्रतिश जी.सीले आउट गराए ।
नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी,सोमपाल कामी,प्रतिश जी.सीको नाममा समान १/१ विकेट रह्यो । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर प्रतिश जी।सीले पपुवा न्युगिनी विरुद्ध डेब्यू गरेका हुन् ।पहिलो पटक राष्ट्रिय टिममा परेका प्रतिशले पहिलो खेलमा नै डेब्यु गरेका हुन् ।प्रतिश नेपालबाट एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औं खेलाडी हुन् ।
पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।
मार्च २ मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ मा घरेलु टोली यूएईसँग खेल्नेछ । जितसँगै नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । पीएनजीको २९ खेलमा २ मा जित र २६ मा हारसहित अंकबिहिन रहेर पुछारमा रहेको छ ।


