बैशाख ९ , काठमाडौं। खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेसँगै उनी नेतृत्वको प्रदेश सरकार ढलेको हो ।
विश्वासको मत पाउँ भनि प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा २४ मत पर्यो भने विपक्षमा ३५ सांसदहरू उभिए । ६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री अधिकारीलाई सरकारलाई निरन्तरता दिनका लागि ३१ सांसदहरूको समर्थन चाहिन्थ्यो । तर, उनको प्रस्तावको पक्षमा २४ जनामात्रै सांसदहरू उभिए । बैठकमा ५९ सांसदहरूको उपस्थिति रहेको थियो ।
अब कांग्रेस-माओवादी केन्द्रबीच आलो-पालो
अधिकारी नेतृत्वको सरकार ढलेसँगै गठबन्धनलाई नयाँ सरकार गठनको बाटो खुलेको छ । अब त्यहाँ केन्द्रीय गठबन्धनअनुसारको सरकार गठन हुनेछ । मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता हरिबहादुर चुमान र नेपाली कांग्रेसका संसदीय दलका नेता राजेन्द्र राज पाण्डेले आलोपालो गर्ने सहमति भइसकेको नेताहरूले बताएका छन् ।
सभामुखबाहेक ७ सदस्यीय माओवादी केन्द्र र २७ सदस्य रहेको कांग्रेस मिल्दा सरकार बनाउन सहज बहुमत पुग्छ । यसमा मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेका राजीव गुरूङ गर्फ दीपक मनाङे पनि एकीकृत समाजवादीबाट थपिँदा गठबन्धनतर्फ ३५ सदस्य पुग्छ । जुन सरकार गठनका लागि ‘इजी मेजरिटी’ हो ।
कांग्रेसका सुरेन्द्र पाण्डेलाई चुनावताकै माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री बनाउने वचन दिएका थिए । तर, माओवादी संसदीय दलका नेता चुमानले अघिल्लो कार्यकालदेखि नै मुख्यमन्त्रीको दाबी गरेका थिए । तर, पाउने सम्भावना कम थियो ।
तनहुँ–१ को उपचुनावमा दाबी गरेर पनि कांग्रेसका गोविन्द भट्टराईले टिकट पाएकाले उनलाई जिताउन माओवादीले शीर्ष तहमै गरेको सौदाबाजीपछि गण्डकी सरकारमा आलोपालो पक्का भएको नेताहरू बताउँछन् ।


