आज बसेको मन्त्री परिषद्को निर्णयले घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने निर्णय गरेको छ । २०८० पुस १४ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । बैठकले निधन भएकाका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ उपलब्ध गराउने र घटनामा परी घाइते भएका व्यक्तिहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्बद्ध निकायलाई थप सतर्क, संयमित र प्रभावकारी बनाउने पनि निर्णय गरेको छ । आज दिउसो बसेको मन्त्रीपरिषद्को निर्णयले आगामी दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न नेपाल सरकार प्रतिबद्ध रहेकाले यस घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन सबैलाई अपील गरेको छ ।
घटनास्थलमा गोलि हान्न आदेश दिने प्रहरी अधिकृत, भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको सुरक्षा प्रमुख र नेपाल सरकारका इपिएस कोरिया शाखा प्रमुखलाई निलम्बन गरि छानबिनको प्रक्रिया अघि बढीसकेको सरकारको प्रवक्ता समेत रहनु भएके सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । पुष १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको दुःखद् निधन भएको थियो ।
मन्त्रीपरिषद्को बैठकले घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरि घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


