सिरहा कमला नदी स्थित चुरे संरक्षित क्षेत्र र वन क्षेत्रमा अवैध उत्खनन गराएको आरोपमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फणीन्द्र पोखरेलाई थुनामुक्त गर्नु पर्ने माग सहित सिरहाको बन्दीपुरमा चक्का जाम गरिएको छ । कर्जनहा नगरपालिकाका मेयर भोला पोखरेलको नेतृत्वमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारिएको हो ।
राजमार्ग अवरुद्ध भएको कारण यातायातका साधनहरू सयौँको सङ्ख्यामा लामबद्ध भएर रोकिएका छन् । हजारौँ यात्रुहरूले असुविधाको सामना गर्नु परेको छ । मेयर पोखरेलले नेतृत्व गरेको समूहले कर्जन्हा नगरपालिका–१ स्थित इलाका वन कार्यालय बन्दीपुर घेराउ गरी कार्यालय खाली गर्न र कर्मचारीहरूलाई बाहिर निस्किन दबाब दिइरहेका छन् । सडक जाम गराउनु अराजकता भयो नि भन्ने प्रश्नमा मेयर पोखरेलले वडाध्यक्ष पोखरेल थुनामुक्त नभएसम्म राजमार्ग जाम रहने बताए ।
सिरहा चुरे र वन क्षेत्रबाट अवैध उत्खनन रोक्ने अभियानमा उत्रिएको डिभिजन वन कार्यालय लहानले कमला नदीको वन र चुरे संरक्षित क्षेत्रमा उत्खनन गर्न ठेकेदारलाई गैर कानुनी रूपमा सिफारिस दिएको अभियोगमा कर्जन्हा नगरपालिका वडा नं। १ का वडाध्यक्ष फणीन्द्र प्रसाद पोखरेललाई पक्राउ गरिएको थियो । वडाध्यक्ष पोखरेल अहिले डिभिजन वन कार्यालय लहानको हिरासतमा छन् ।


