अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएको बताउनु भएको छ ।
पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्दै अर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताउनुभयो।
अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारप्रसारको आवश्यकता रहेको बताउँदै उहाँले बचतकर्ताको रकम हिनामिना गर्नेलाई कानुनको दायरामा ल्याइने बताउनु भयो।
देशभरका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने प्रक्रियाअघि बढाएको बताउनु भयो। उहाँले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रको प्रवर्द्धन तथा कृषिको आधुनिकीकरणबाटै आर्थिक समृद्धि हासिल हुने बताउनु भयो।
लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै पूर्वी पाल्पाको विकासमा सहकारीले महत्वपूर्ण योगदान गरेको बताउनु भयो। रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पछिल्लो समय सहर बजारका सहकारीमा अनियमितता भएका विवरण बाहिर आए पनि गाउँका सहकारीले नागरिकको जीवनस्तर माथि उकास्न ठूलो टेवा पुर्याएको बताउनु भयो ।


