काठमाडौँ , माघ ९
भिजिट भिसामा विदेश जाने नेपालीहरुले चरम ठगी र सास्ती बेहोर्नुपरेको गुनासो बढेसँगै सरकारले नयाँ कार्यविधि जारी गरेको छ । भिजिट भिषामा विदेश लगि ठगिने र अलपत्र पर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न गृह मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपालीहरुका लागि नयाँ कार्यविधि जारी गरेको हो ।
नयाँ कार्यविधि अनुसार अब संयुक्त अरब इमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेविया लगायतका खाँडी मुलुकहरुमा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा गर्नुपर्नेछ।
यस्तै भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही र दुईतर्फी हवाई टिकट अनिवार्य गरिएको छ ।
त्यसै गरी बार्षिक न्यूनतम ५ लाख रुपैया कर योग्य आम्दानी र सो को आधा रकम बैक खातामा बचत भएको हुनुपर्ने छ ।
यस्तो छ भिजिट भिसामा भ्रमण अनुमति सम्बन्धि कार्यविधि:
१) ६ महिनाको वैध अवधि भएको राहदानी।
२) गन्तव्य देशको प्रवेषाज्ञा (VISA) वा On Arrival Visa प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने।
३) दुईतर्फी हवाई टिकट।
४) भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र।
५) भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट/क्रेडिट कार्ड)।
६) संयुक्त अरब इमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा गर्नुपर्नेछ। स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार (Burden of Proof) सम्बन्धित व्यक्तिमा रहने छ। स्वघोषणाको ढाँचा विभागले निर्धारण गरेबमोजिम हुने।


