स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताउनुभएको छ ।बिहीबार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री बस्नेतले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको जिकिर गर्नुभयो । उहाँले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा विस्तार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सेवा विस्तारका लागि मन्त्रालयका तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको जानकारी दिनुभयो । मन्त्री बस्नेतले मानसिक रोगी किन बढिरहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको बताउनुभयो ।

मानसिक रोगबारे कुरा गर्दा, नेपालमा सय जनामध्ये १० जना मानसिक रोगी फेला पर्न थालेका छन् । यो अवस्थामा सबैलाई चुनौती नै भइसकेको छ । बच्चाहरूमा पनि त्यस्तै अवस्था सुरु भएको छ । यही सन्दर्भमा ३७ वर्ष पहिलादेखि बालबालिकाको हक अधिकारका लागि लड्दै आएको सिभी नेपालले पाटन मानसिक अस्पतालसँग सहकार्य गरेर अरू सहभागीहरूलाई जुटाएर जुन किसिमले किशोरकिशोरीहरुलाई मानसिक रोगको उपचार गर्ने युनिट बनाएको छ ।
मानसिक रोगको निवारणका लागि आवश्यक परे कानुन समेत बनाएर अघि बढ्नुपर्ने मन्त्री बस्नेतले बताउनुभयो ।


