नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकले पार्टीलाई थप सबल, सुदृढ र एकतावद्ध बनाएर लैजानेमा विश्वास व्यक्त गर्नुभएको छ ।
पार्टीको आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको महासमिति बैठकमा उहाँले यस महासमिति बैठकलाई देश र विदेशलेसमेत उत्सुकतापूर्वक हेरेको उल्लेख गर्नुहुँदै बैठकले कांग्रेसलाई थप, सबल, सुदृढ र एकताबद्ध बनाएर लैजाने बताउनुभयो ।

उहाँले पार्टीमा निरन्तर क्रियाशील रही लोकतन्त्र स्थापना, पुनः स्थापना र रक्षाका लागि जेलनेल, निर्वासन, सर्वश्वहरणलगायतका दुःख कष्ट सहेर पार्टीलाई सुदृढ बनाउन प्रयत्नशील रहेका सबै नेता तथा कार्यकर्ताको उच्च सम्मान गर्नुभयो ।
सभापति देउवाले १४औँ महाधिवेशनमा समय अभावका कारण नीतिगत विषयमा दस्ताबेज प्रस्तुत गरी छलफल गर्न नपाइएको भन्दै यस महासमिति बैठकले पार्टीका नीतिगत विषयमा छलफल गरी बैठकमा प्राप्त सुझावलाई समेटेर दस्ताबेज तयार गर्ने बताउनुभयो ।

सभापति देउवाले अहिले मुलुकमा गठबन्धनको अभ्यास भइरहेको बताउनुहुँदै सरकार निर्माणका लागि मात्रै गठबन्धन बनेको नभई केही समय पहिले प्रतिनिधिसभालाई विघटन गर्ने मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र संविधानलाई जोखिममा पार्ने गतिविधिकाविरुद्ध एकाकार भएर मुलुकलाई सम्बृद्धिको दिशामा अगाडि बढाउन खोजिएको उल्लेख गर्नुभयो ।


