एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण प्रक्रिया अगाडि बढेको छ। बुटवल उपमहानगरपालिका वडा नं. ९ मा रहेको ६ बिघा १२ कठ्ठा जग्गामा भवन निर्माण हुँदैछ।
अत्याधुनिक संरचना सहितको १२ तले अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरिसकेको छ।
लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्ने गरी गत पुस २६ गते सम्झौता गरेको थियो। सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ।
प्राधिकरणले यसअघि २०७८ साल फागुन ८ गते ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार बराबरको लागत अनुमानसहित पहिलो बोलपत्र आह्वान गरेको थियो।
बोलपत्रमा निश्चित कम्पनीलाई मात्र टेण्डर हाल्न मिल्ने गरी मिलेमतोमा ठेक्का प्रक्रिया अगाडि बढाइएको भन्दै चौतर्फी आलोचना भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सच्याउन निर्देशन दिएको थियो।
भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन्। ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन्।
भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ।
क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ। १२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ ।
पछिल्लो पाँच वर्ष यता मात्रै संघीय सरकारको लगानीमा दुई पटक गरी ५८ करोडको लागतमा भौतिक संरचना निर्माण गरिएका छन्। अस्पताल विकास समितिले पनि इमर्जेन्सी, ओपिडी, अन्तरंग सेवा, फार्मेसी, अस्पताल परिसरभित्रको सडक र अस्पताल कम्पाउण्ड वाल निर्माण लगायतमा ३५ करोड बढी लगानी गरेको छ।


