कोशी प्रदेशको नाम खारेजको माग गर्दै काठमाडौंमा बृहत प्रदर्शन गरिएको छ। फागुन १७ गते आजको दिनलाई प्रदेश १ को नाम कोशी नामाकरण गरिएको र प्रदेशको पहिचान नामेट गरिएको अँध्यारो दिन भएको भन्दै प्रदेश १ पुनः नामाकरण गर्न संयुक्त संघर्ष समितिले काठमाडौंको तीनकुनेमा बृहत प्रदर्शन गरेको छ ।

कालो झण्डासहित प्रदर्शनमा सहभागीहरूले प्रदर्शनकारीले पहिचानविरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर, संघीयता पुनः सीमांकन गरलगायतका नारा लगाएका छन् । आन्दोलनकर्मिहरुले १ नम्बर प्रदेशको पहिचान मेट्ने काम फागुन १७ गते भएको भन्दै यस दिनलाई कालो दिनका रूपमा मनाएका छन् ।

गत वर्ष फागुन १७ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश १ को नाम कोशी रहने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको थियो।
कोशी नामको पक्षमा ८२ मत परेको थियो भने विपक्षमा चार मत परेको थियो। प्रदेश १ को नाम कोशी भएपछि एकबर्षदेखि पहिचान पक्षधरले विरोध गर्दै आएका छन्।


