युनाइटेड मिसन अस्पताल पाल्पामा बन्द रहेको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न मानव अधिकार रक्षक सञ्जाल पाल्पाले अस्पताल पदाधिकारीको ध्यानाकर्षण गराएको छ ।
जिल्लामा सरकारी अस्पतालको अवस्था कमजोर हुँदा नागरिकले निजी तथा सामुदायिक अस्पतालमा महँगो स्वास्थ्य सेवा लिनु परेको बाध्यात्मक अवस्थाको अन्त्यका लागि सञ्जालले अस्पतालमा बिमा कार्यक्रम पुनः लागु गर्न ध्यानाकर्षण गराएको सञ्जालका संयोजक भगवान् भण्डारीले जानकारी दिनुभयो ।
संयोजक भण्डारीको नेतृत्वमा मानवअधिकार रक्षक सञ्जालका सदस्य, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, पत्रकार तथा सञ्चारकर्मी र स्थानीय बासिन्दासहितको टोलीले अस्पतालका कार्यकारी निर्देशक डा. रचेल कारख, प्रशासकीय अधिकृत जीवन भट्टराई, कर्मचारी व्यवस्थापन प्रमुख गणेशप्रसाद घिमिरेसँग संयुक्त रूपमा छलफल गरी स्वास्थ्य बिमा सञ्चालन गर्न आग्रह गरेको हो ।


