स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा बीमा प्रदायक कम्पनीलाई ६ अर्ब रकम भुक्तानी गरेको छ ।
शुक्रबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई ६ अर्ब ४४ करोड १६ लाख ९९ हजार ७५५ रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको हो । बोर्डसँग हाल ३ अर्ब ८४ करोड ८८ लाख ६९ हजार ६९१ रुपैयाँ मौज्दात छ ।
बोर्डका अनुसार हालसम्म ३५.८८ प्रतिशत अर्थात २३ लाख ९२ हजार ६७६ परिवारले स्वास्थ्य बीमा गरेका छन् । कार्यक्रममा २६।५४ प्रतिशत अर्थात ७७ लाख ४१ हजार ४८३ जनाले बीमा गरेको जानकारी दिइयो । त्यस्तै ३६ लाख ५२ हजार ४३२ जनाले बिमाबाट उपचार सेवा लिएको बोर्डले जनाएको छ ।
हाल स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्ला र ७५२ स्थानीय तहमा पुगेको छ । बाँकी रहेको काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा पनि छिट्टै कार्यक्रम लागू गरिने बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले बताउन भयो ।
बीमा बोर्डले आगामी आइतबार (चैत २५ गते) आठौँ स्वास्थ्य बीमा दिवस मनाउँदै छ । ललितपुरको जवलाखेलस्थित स्टफ कलेजमा दिवस मनाउने तयारी भइरहेको बोर्डले जनाएको छ ।


