दस महिनामा मुलुक सात अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म छ अर्ब ९८ करोड रुपियाँ भित्रिएको हो । गत वर्ष सो अवधिमा चार अर्ब ३६ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।
गत वर्षको १० महिनाको तुलनामा चालु आवको १० महिनामा दुई अर्ब ६२ करोड रुपियाँ बढी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।
चालु आवको १० महिनामा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई पाँच अर्ब २६ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्ष सो अवधिमा पुँजीगत ट्रान्सफर छ अर्ब ३६ करोड रुपियाँ कायम भएको थियो ।
नीतगत सुधारसँगै चालु आवको सुरुवातदेखि नै मुलुकमा भित्रिने वैदेशिक लगानीमा सुधार हुँदै आएको तथ्याङ्कले देखाएको छ ।
उद्योग विभागका अनुसार चालु आवको १० महिनामा ३०७ परियोजनामार्फत ४१ अर्ब ३८ करोड विदेशी लगानी स्वीकृत भएको छ । जसमा सबैभन्दा धेरै सेवा क्षेत्रमा १०३ परियोजना, पर्यटनमा १४४ परियोजना स्वीकृत भएका छन् ।
उत्पादनमूलकमा ३४, पूर्वाधारमा सात, कृषिमा सात र सबैभन्दा कम खानीजन्य दुई परियोजना स्वीकृत भएका छन् । विदेशी लगानीबाट एक हजार ७८३ जनालाई रोजगारी उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।
आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार चालु आवको फागुनसम्म स्वीकृत वैदेशिक लगानीमध्ये ऊर्जामूलक क्षेत्रमा २७.२३ प्रतिशत, सेवामूलक क्षेत्रमा २७.२४ प्रतिशत, पर्यटन क्षेत्रमा २२.४४ प्रतिशत र उत्पादनमूलक क्षेत्रमा १५.६० प्रतिशत लगानी रहेको छ । पूर्वाधार उद्योगमा सबैभन्दा कम विदेशी लगानी स्वीकृत भएको छ ।
नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणले आव २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात दुई खर्ब ६४ अर्ब ३३ करोड रहेको देखाएको छ । नेपालमा सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ ।


