कर्णाली प्रदेशको विद्यमान अवस्था ठिक नभएको विभिन्न तथ्य–तथ्याङ्कहरूले देखाएको छ ।
सरकारले हरेक वर्ष गरिबी न्यूनीकरण र दुखारी कर्णालीवासीलाई ‘सुखारी र समृद्ध’ बनाउने उद्देश्यसहित वार्षिक नीति, कार्यक्रम र बजेट ल्याउने गरेपनि कर्णालीमा गरिबी दर २६.६९ प्रतिशत रहेको तथ्याङ्कहरूले देखाएको छ ।
सरकारका अर्थमन्त्री महेन्द्र केसीले शनिबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रदेशको विद्यमान अवस्था पनि प्रस्तुत गरेका छन्। जसमा कर्णाली प्रदेशको गरिबी दर अझै पनि २६.६९ प्रतिशत रहेको पाइएको छ । नेपालको गरिबी दर २०.२७ प्रतिशत रहेको छ । यस्तै कर्णालीको निरपेक्ष गरिबीको दर २६.७ प्रतिशत रहेको उल्लेख गरिएको छ । जुन राष्ट्रिय औसत २०.३ प्रतिशत भन्दा बढी हो।
पछिल्लो मानव विकास सूचकाङ्क प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क ०.६०२ रहेकोमा कर्णाली प्रदेशको ०.५३८ रहेको छ ।
नेपालको कुल भू–भागको करिब २१ प्रतिशत रहेको यस प्रदेशको जनसङ्ख्या १६ लाख ८८ हजार ४ सय १२ रहेको छ । यो सङ्ख्या नेपालको कुल जनसङ्ख्याको ५.७९ प्रतिशत हुन आउँछ । यस प्रदेशको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.७० प्रतिशत रहेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको प्रक्षेपणअनुसार नेपालको चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत र कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ३.३९ प्रतिशत हुने अनुमान रहेको छ ।


