ललितपुरका १६ वर्षीय बालकमा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा उपचाररत १६ वर्षीय बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो।
उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवको ठैवस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर) बस्ने उहाँमा हैजा पुष्टि भएको हो।
त्यस्तै, सोही ठाउँबाट आउनु भएका एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ उहाँ आइसियुमा उपचाररत हुनुहुन्छ।
उहाँ भन्नुहुन्छ, “सोही ठाउँबाट हैजाका लक्षण लिएर चार जना युवा आउनुभएको थियो एक जनामा हैजा पुष्टि भयो। अर्को एक जनाको रिपोट कल्चरको लागि दिइएको छ। दुई जना सोमबार राति अस्पतालबाट भाग्नुभयो।”
पछिल्लो समय अस्पतालमा झाडा पखाला भएर दैनिक करिब १० जनाको हाराहारीमा बिरामी उपचारका लागि आउने डा. बसौला बताउनुहुन्छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हैजा अन्य ठाउँमा फैलन नदिन हैजा भेटिएको पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिइसकेको बताउनुभयो।


