बैशाख २६, काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टीमाथि लगाएको आरोपको खण्डन गरेको छ। कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि लगाएको आरोप झुटको पुलिन्दा भएको टिप्पणी गरेका हुन्।
ओलीले आइतबार पत्रकार सम्मेलन गरेर कांग्रेसमाथि ६७ बुँदे गम्भीर आरोप लगाएपछि त्यसकाे जवाफ दिँदै प्रवक्ता महतले भने, ‘नेपाली कांग्रेसले नीति र कार्यक्रम देशमा कार्यान्वयन गर्याे। त्यसको ब्याज र सावाँ खाने पार्टी एमाले हो। ओलीजीले लगाउनुभएको आरोपको झुटको पुलिन्दा हो।’ कांग्रेसको आर्थिक उदारीकरणको नीति ल्याएपछि देशमा नीति उद्योग व्यवसाय फस्टाउन थालेको बताए।
‘उहाँ बाँसबारी छाला उद्योग कारखाना देखाउनुहुन्छ। त्यसको ठाउँमा सयौँ खुलेको उहाँले बिर्सिनुभयो। एमालेले अगाडि कांग्रेसको विरोध गर्नुपर्ने कुनै कारण छैन। विकास भनेको नयाँ फड्को मार्ने हो’ उनको भनाइ छ। कोरोनाको बेलामा ओली कमिशनकाे काण्डमा लिप्त भएको बेलामा आफूहरुले खोपको सुनिश्चित गरेको दाबी गरे।
महतले ओलीप्रति आक्रोशित हुँदै भने, ‘कोभिडले जनता घरमा बन्द थिए। हातमुख जोड्न मुस्किल थियो। औषधि उपचार नपाएर अस्पताल बाहिर मर्न बाध्य थिए। त्यसको सुचारु कसले गर्याे। उहाँहरु त कसले बढी कमिसन दिन्छन् भने दौडमा समय बर्बाद गरेर लिप्त हुनुहुन्थ्यो। काण्डको नाम लिएर साध्य छैन।’


