प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो । गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले आजको बैठक चल्न दिएका थिएनन् ।
बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरले सत्ता र प्रतिपक्षी दलबीच सहमतिको प्रयास गर्नु भएको थियो । तर, उहाँको प्रयास सफल हुन नसकेपछि आजको बैठक स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिएपछि सहमति जुट्न सकेन । भिजिट भिसाको नाममा करोडौं रुपैयाँ लिएर नेपाली युवालाई विदेश उडाउने गरेको घटना सार्वजनिक भएपछि त्यसमा गृहमन्त्रीसमेत संलग्न रहेको आरोप विपक्षीहरूले लगाएका छन् ।
सोही आरोपमा जवाफ दिन सदनमा उपस्थित भएका गृहमन्त्रीलाई बोल्न नदिई विपक्षीले लगातार अवरोध गरेपछि सभामुखले आधा घण्टा रोकेर सहमतिको प्रयास गरेका थिए । सहमति नजुटेपछि बैठक भोलीसम्मका लागि स्थगित गरिएको हो ।


