वैशाख २८ , भरतपुर । भरतपुरको मौलाकालिका अस्पतालले भाँचिएको खुट्टामा राखेको रड निकाल्ने क्रममा लापरबाहीले मृत्यु भएको बिषयमा आफ्नो स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ।मंगलबार बघौडा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद तिवारीको भरतपुरको मौलाकालिका अस्पतालमा उपचारको दुःखद निधन भएको थियो ।गत चैतमा खुट्टामा रड राखेका माडी–५ का रामप्रसाद तिवारी मंगलबार रड निकाल्न अस्पताल भर्ना भएका थिए।
उनको उपचारका क्रममा मृत्यु भएको थियो। मौलाकालिका अस्पतालले उपचारमा लापरबाही गरेर मृत्यु भइसकेपछि कुरुवालाई थाहै नदिई भरतपुर अस्पताल पुर्याएको भन्दै आफन्तले प्रदर्शन गरेका थिए।मृतकका आफन्त र अस्पताल प्रशासनका बीचमा भएको वार्तामा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ।
उपचारमा संलग्न डाक्टरको समूहलाई अस्पताल प्रशासनले तुरुन्त कारबाही गरी सार्वजनिक गर्ने सहमति भएको मृतकका भाई प्रजापति तिवारीले बताए। कारबाही प्रचलित कानुनअनुसार गर्ने सहमति भएको उनले बताए।तिवारीले मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउन अस्पताल सहमत भएको बताए।
अस्पतालका प्रबन्ध निर्देशक डाक्टर केशवराज भुर्तेल, चिकित्सकहरु र मृतकका परिवारले हस्ताक्षर गरेको सहमति पत्रमा बिरामीको मृत्युपछि परिस्थिति खराब हुन्छ भनेर परिवारसँग सल्लाह नै नगरी सरकारी अस्पताल लैजानु आफ्नो कमजोरी भएको अस्पतालले स्वीकार गरेको छ।
सहमति पत्रमा बायाँ खुट्टा भाँचिएर लगाएको स्टिल निकाल्नको लागि उपचारको क्रममा आएका तिवारीलाई अपरेशन कक्षमा लठ्याउने क्रममा अस्पतालबाट अपनाउनुपर्ने सबै सुरक्षाका उपायहरु नअपनाएका कारण बिरामीको मृत्यु भएको उल्लेख गरिएको छ।
गत चैत ११ गते स्थानीय सोमेश्वर मध्यवर्ती सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा उनी रूखको जरामा अल्झिएर लडेका थिए। लगत्तै माडीको बघौडा अस्पतालमा सामान्य उपचार गरेर उनलाई मौलाकालिका अस्पताल ल्याइएको थियो।


