वैशाख २८ काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाताले मताधिकार प्रयोगका लागि उपत्यकाका कलंकी, बनेपा लगायतका ठाउँबाट विभिन्न जिल्लामा फर्कने क्रम बढेको छ ।
काभ्रेको वीपी र अरनिको राजमार्ग भएर तथा कलंकीबाट बाहिरिने यात्रुबाहक सानो तथा ठूला सवारीसाधन विभिन्न जिल्लामा फर्कने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।कतिपय नागरिक निजी गाडी तथा सार्वजनिक सवारी साधनमा जिल्ला गइरहेका छन् भने कतिपय नागरिक उम्मेदवार र राजनीतिक दलका झण्डा र चुनाव चिह्नसहित रिजर्व गाडीमा गइरहेका छन् ।
उपत्यका बाहिरका पूर्वी जिल्लाहरुसँगै तराइ जोड्ने बनेपा-बर्दिवास विपी राजमार्गमा गाउँ फर्कनेहरुको संख्या बढेका कारण सडकमा सवारी साधनको चाप बढेको हो ।मतदाता नामावली जिल्लामा रहेकाले यही वैशाख ३० गते हुने मतदानमा मताधिकार प्रयोगका लागि उपत्यका छाडेका उनीहरूले बताएका छन् ।


