भ्रष्टाचारमा आरोपित भएर निलम्बनमा परेका सांसदलाई प्रमुख अतिथि बनाएको विषयमा संसदमा प्रश्न उठेको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रश्न उठाउनु भएको छ । उहाँले टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा अदालतमा मुद्दा दर्ता भएर कानुनी रूपमा सांसद पदबाट निलम्बनमा परेका मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोकका सीडीओले प्रमुख अतिथि बनाएको विषयमा संसदमा प्रश्न उठाउनु भएको हो ।
सीडीओले सरकारी कार्यक्रमको आयोजना गरेर सांसद पदबाट निलम्बनमा रहेका व्यक्तिलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको र शासनका साथ मञ्चमा राखेर फोटो खिचेर जिल्ला प्रशासन कार्यलयले आफ्नो सामाजिक सञ्जालमा राखेको बताउनु भएको छ ।
‘यही संसद्ले सार्वजनिक पद निलम्बन गरेको हो । सरकारी कार्यक्रममा निलम्बनमा परेका र कानुनी रूपमा मुद्दा समेत लागेका व्यक्तिलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेर राख्नु भनेको यो संसद्को समेत अवमूल्यन हो,’ सापकोटाले भन्नुभयो । यो विषयमा गृहमन्त्रालयले आधिकारित धारणा दिनुपर्ने उनको माग छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र हेलो सरकार सबैको ध्यानाकर्षण गर्न समेत चाहेको उहाँले बताउनु भयो ।


