पूर्व राष्ट्रपति एवम् नेकपा (एमाले) का पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूले विधिपूर्वक पार्टी सदस्यता नवीकरण गरेको बताउनुभएको छ ।
शुक्रबार दिउँसो काठमाडौंमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा पूर्व राष्ट्रपति भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति बारेमा अध्ययन तथा चिन्तन गर्दैआएको बताउनुभयो ।
नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको उल्लेख गर्नुहुँदै उहाँले संविधानका धारा, मर्म र भावना अनुसार कहीँ कतैबाट आफू दलमा आबद्ध भएर राजनीतिमा सङ्लग्न हुन नसक्ने अवस्था नरहेको बताउनुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले आफू एमालेको पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको छ । त्यसैले पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवम् नीतिहरुप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन । यो पार्टी बनाउन म लगायत हजारौं नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मिहिनेत लागेको छ । यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन । बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवम् आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर म यी कुराहरु राखिरहेको छु ।”
उहाँले जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) प्रतिको नेकपा (एमाले) का नेता, कार्यकर्ता र आम सदस्य एवम् सम्पूर्ण सङ्गठनमा आबद्ध सबैको आस्था, विश्वास र निष्ठाले नै पार्टीले आजको सफलता हासिल गरेको बताउनुभयो । पार्टीलाई वैचारिक रुपले थप सशक्त, साङ्गठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउनुपर्ने दायित्व रहेको उहाँको भनाइ छ ।


