आमसञ्चार तथा पत्रकारिता क्षेत्रका विज्ञहरूले प्रेस काउन्सिल नेपालको पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
प्रेस काउन्सिल नेपाल, प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित उपसमितिले यहाँ शुक्रबार आयोजना गरेको ‘प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारका सवाल र सञ्चार कानुन’ विषयक अन्तरक्रियामा उनीहरुले काउन्सिलले उद्देश्य, काम, कर्तव्य र अधिकारभित्र रहेरै काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तथा वरिष्ठ पत्रकार किशोर नेपालले काउन्सिलको मुख्य काम नै आचारसंहिता अनुगमन भएकाले अनुगमनलाई नै अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन् ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले कानुन निर्माण प्रक्रियामा राज्यको कमजोरी र उदासिनताले मिडिया जगत्ले दुःख भोगिरहेको र बर्सेनि प्रेस स्वतन्त्रता हननका घटना बढिरहेको बताइन् । महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले काउन्सिलको मुख्य काम पत्रकार र सम्पादकको मूल्याङ्कन गर्ने भएको उल्लेख गर्दै त्यसमै लाग्न सुझाव दिएका छन् ।
पत्रकारिताको पेसागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा संवर्द्धनका लागि काउन्सिलले छापादेखि डिजिटल प्लेटफर्ममार्फत सञ्चालित न्यु मिडियाको अनुगमन पनि गर्दै आएको छ ।


