विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको विषय चुनौतीपूर्ण रहे पनि फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सम्भव रहेको निर्वाचनविज्ञले बताएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगलाई विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित हुने गरी निर्वाचनको तयारी गर्न आग्रह गरेपछि सो विषयले चर्चा पाएको छ । आयोगका पूर्वआयुक्तले युद्धस्तरमा तयारी गरे सम्भव हुने धारणा व्यक्त गरेका छन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आँट गरेर काम सुरु गरे विदेशमा रहेका नेपाली नागरिकले आगामी फागुन २१ गते मतदान गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि सो विषय छलफलमा रहे पनि आयोगले यतिबेला आएर तयारी गर्नु उपयुक्त भएन । कठिनाइ र चुनौती छन् । शून्यदेखि सुरु गर्नु पर्दा सोहीबमोजिम तयारी पनि गर्नु पर्छ । अझै ढिलाइ गर्नुहुन्न । आयोगको सक्रियता आवश्यक छ । सम्भव हुन्छ ।”
आयोगमा दुई पटक आयुक्त हुनुभएका दोलखबहादुर गुरुङले असम्भव नभए पनि आयोगले युद्धस्तरमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले आग्रह गरेपछि आयोगले कानुन संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने थियो तर अब अझै ढिलाइ गर्नुहुन्न ।”
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले सकारात्मक भएर यस विषयमा पहलकदमी लिएको जानकारी दिनुभयो । पछिल्लो पटक युवा पुस्ताको आन्दोलनले समेत विदेशमा रहेका नेपाली नागरिकको मतदानको व्यवस्था गर्न जोड दिएको छ ।
आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने कानुन ल्याउँदा सरकार, आन्दोलन गरेको पक्ष, राजनीतिक दलसँग छलफल आवश्यक पर्ने आयुक्त गुरुङले बताउनुभयो । आयोगसमक्ष एकै पटक सबै देश र स्थानमा मतदानको व्यवस्था गर्न प्राविधिक र व्यवस्थापकीय जटिलता छ । कुन देश, कुन सहरमा बस्नेलाई दिने र कसलाई नदिनेलगायतको विषय ठम्याउन अध्ययन जरुरी छ । पूर्वआयुक्त गुरुङले विदेशमा रहेकालाई मतदानको अधिकार दिन व्यवस्थापकीय, सञ्चालन, राजनीतिक, नीतिगत र सुरक्षाको विषय प्रमुख चुनौती रहेको प्रस्ट्याउनुभयो ।


