काठमाडौं, मंसिर २५
लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान बनाएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको क्वालिफायर–२ मा लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा पक्का गर्यो।
पहिले टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन जोडे। कमजोर सुरुवातपछि कप्तान रोहित पौडेल र डी’आरसी शट ले दोस्रो विकेटमा ५४ बलमा ६९ रनको साझेदारी गर्दै इन्निङलाई उकासे।रोहितले ३० बलमा ३० रन तथा शटले ४१ बलमा ४५ रन बनाए। अन्य ब्याटरले खासै योगदान नदिँदा स्कोर मध्यममै सीमित भयो।
जवाफमा उतरेको विराटनगरको ब्याटिङ लाइनअप लुम्बिनीका बलरहरू अगाडि पुनः धरासायी भयो। १७.५ ओभरमा ९४ रनमै अलआउट भएका उनीहरू लगातार दोस्रो खेलमा १०० रनभन्दा कममै समेटिए।
लुम्बिनीका लेग स्पिनर तिलकराज भण्डारी ले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए।रुबेन ट्रम्पलमन, जेजे स्मिट र अभिशेष गौतम ले २–२ विकेट तथा शेर मल्ल ले १ विकेट लिए।
ट्रम्पलमनले शुरुमै लगातार बलमा मार्टिन गप्टिल (२) र लोकेश बम (०) लाई आउट गर्दै विराटनगरलाई दबाबमा पारे। अर्को ओभरमा शेरले स्टार ब्याटर फाफ डु प्लेसिस लाई ३ रनमा बोल्ड गरे।विराटनगरबाट सर्वाधिक रन साम हेजलेट ले ३४ बनाए भने नरेन भट्टले २१ रन जोडे।
बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रतिश जिसी ३–३ विकेटका साथ प्रभावकारी बने। सुवासले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरमा १८ रन दिँदै २ विकेट लिए।
लगातार पाँचौं खेलमा जित दर्ता गर्दै लुम्बिनी लायन्स अब शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त गर्नेछ।


